Pages

स्ववियु निर्वाचनको औचित्य

– निश्चल क्षेत्री
साविक समयभन्दा करिब ३ वर्षपछि हुन गैरहेको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सरगर्मीले क्याम्पस तथा सिङ्गो देश निर्वाचनको वातावरण तातिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनको प्रमुख उपलब्धि स्ववियु अहिले १५ औँ निर्वाचनसम्म आइपुग्दा बदनामी र भ्रष्टाचारको अखाडा पनि बन्दै गएको समाचार आइरहेका छन् । त्यसका बावजुद ऐतिहासिक महत्व बोकेको स्ववियु निर्वाचनलाई बदनाम तथा भ्रष्टाचारको अखडा बनाइँदै लगेपछि यसको औचित्यमाथि नै प्रश्न उठनु अन्यथा होइन । दुई प्रकारको शिक्षा प्रणालीको स्थापना गरी शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न प्रोत्साहित गर्ने विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, दुबै अखिल (क्रान्तिकारी) हरू स्ववियु निर्वाचनको सामुखमा आएर निर्वाचन हुन हुने क्याम्पसहरूमा नक्कली तथा भाडाको बिद्यार्थी भर्नाको लागि तँछाडमछाड गरेको देख्दा लाग्छ, स्ववियुको औचित्य सम्भवतः  अबका दिनमा छैन । यसको अर्थ स्ववियु नै विघटन गर्दा उत्तम हुनेछ भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ । स्ववियु भनेको विद्यार्थीहरूको सत्ता हो । यसको प्राप्ति पछाडि बलिदानको एउटा इतिहास नै रहेको छ । तसर्थ यसको ऐतिहासिक गरिमालाई जोगाउनका लागि स्ववियु निर्वाचनलाई मर्यादित बनाउनु पहिलो आवश्यकता हो । 
शैक्षिक निजीकरणका कारण शिक्षा आज व्यापारिक वस्तु बनिरहेको छ । हाम्रो सङ्गठन अखिल (छैठौं) ले यसलाई रोक्न समान प्रकारको शिक्षा लागु गर्नका लागि निरन्तरको आन्दोलन र दबाब सृजना गरिराखेको छ । तर विद्यार्थी आन्दोलनका मतियार ठान्ने एमाले अखिल, नेविसङ्घ र क्रान्तिकारीहरूले शैक्षिक एजेन्डाहरूलाई पुरै आँखा चिम्लेर गलत प्रकारको नीति तथा क्रियाकलाप अवलम्बन गरिरहेका छन् । अहिलेको स्ववियु निर्वाचनमा हाम्रो सङ्गठनले अन्य विद्यार्थी सङ्गठनहरूको गलत नीति तथा क्रियाकलापको भन्डाफोर गर्दै चुनावी मैदानमा उत्रदै छ । देशको उदाउदो बैकल्पिक शक्तिको रूपमा हामीले यो निर्वाचनमा आफूलाई स्थापित गर्ने छौ । अनियमितता र भ्रष्टाचारको अखाडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हक, हितका लागि सही रूपमा प्रयोग गर्दै अन्य सङ्गठनहरूलाई विस्थापन गनेर्छौ । करोडौँ पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा फर्जी मत खसालेर विगतमा चुनाव जितेका शक्तिहरू यस पटक पनि सोही प्रक्रियाद्वारा अगाडि बढन लागिपरेका छन । स्ववियु निर्वाचनका लागि मात्र भर्ना गरिने विद्यार्थीहरूको सङ्ख्या नियमित विद्यार्थीभन्दा बढी रहेको तथ्यहरू पनि सार्वजनिक भैसकेको छ । अन्य सङ्गठनहरूसँग सही शैक्षिक एजेन्डाहरू नभएपछि पैसा र गुन्डागर्दीको आडमा चुनाव जित्ने सपना देखेका छन् । तर उनीहरूको उक्त योजनालाई विफल पार्नका लागि अखिल (छैठौं) देशभरि भर्ना भएका नक्कली विद्यार्थीहरूको भर्ना खारेजीको माग सहित क्याम्पस तथा स्ववियु निर्वाचन समितिका विरूद्ध आन्दोलनमा उत्रिसकेको छ । हाम्रो जीत सुनिश्चित देखेपछि अत्तालिएका शैक्षिक एजेन्डाबाट स्खलित विद्यार्थी सङ्गठनहरू निर्वाचन नै नगर्ने योजना सहित लागेका पनि छन् । तर हामीले निर्वाचन निर्धारित समयमा र नियमित बिद्यार्थीहरूको बीचमा नै हुनु पर्नेमा जोड दिएका छौँ । करोडौँ खर्च गरेर स्ववियु निर्वाचन जित्ने विद्यार्थी सङ्गठनहरू शैक्षिक सुधार र परिर्वतनभन्दा पहिला आफ्नो लगानी (खर्च) उठाउनका लागि नै तत्पर रहनेछन् । उक्त लगानी उठाउनका लागि स्ववियुलाई भ्रष्टाचारको अखाडा बनाउने र विद्यार्थी कल्याणकारी कोषको दुरूपयोग नै उपयुक्त माध्यम हुनेछ । तसर्थ यस प्रकारले गरिने निर्वाचन र जित्ने विद्यार्थी सङ्गठनको नेपाली शैक्षिक आन्दोलनमा कुनै औचित्य रहने छैन ।
पटक पटक स्ववियु जितेका सङ्गठनहरूले आजसम्म शैक्षिक गुण स्तर र समानताको बहस गर्ने फुर्सद नै निकाल्न सकेका छैनन् । सदैव नक्कली विद्यार्थी भर्ना गरी स्ववियु जित्ने सङ्गठनहरू उपयुक्त शैक्षिक क्यालेन्डर निर्माण गरी लागु गर्ने, विश्वविद्यालयमा कार्यरत कर्मचारी र प्राध्यापकहरूलाई आफ्नो कर्तव्यप्रति वफादार बनाउने, पाठ्यक्रम समयानुकुल परिमार्जन गर्ने, क्याम्पस स्वायतत्ताको नाममा भैरहेको निजीकरण तथा व्यापारीकरणलाई रोक्नु पर्ने, स्ववियुलाई अधिकारसम्पन्न, उत्तरदायी र पारदर्शी बनाउने, राष्ट्रिय आवश्यकता अनुसार कृषि र प्राविधिक विषयमा विश्वविद्यालय सञ्चालन गर्ने, निजी विश्वद्यिालयमा पनि सङ्गठन विस्तार र स्ववियु स्थापना गर्नु पर्ने, निर्वाचनकै सन्दर्भमा राष्ट्रघाती सङ्घीयताको वहस र विरोध गर्ने एजेन्डाहरूप्रति उदासिन रहने विद्यार्थी सङ्गठनहरूलाई यस पटकको निर्वाचनमा पराजित गरी सही पाठ सिकाउनु पर्ने अवसर आएको छ । यसलाई हामीले सदुपयोग गर्नेछौँ ।

No comments: