Pages

आसन्न स्ववियु निर्वाचनबारे

  आसन्न स्ववियु निर्वाचनबारे
– निश्चल क्षेत्री
२०३६ सालको विद्यार्थी आन्दोलनको प्रमुख उपलब्धि स्वतन्त्र विद्यार्थी युनियनको गठन गर्ने अधिकार सहित अन्य अधिकार थियो । सोही अधिकार उपभोग गर्दै अहिले त्रिभुवन विश्वविद्यालय अन्तरगतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्यामपसहरूमा यही जेठ २३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हँुदैछ । स्ववियु निर्वाचनको सम्मुखमा हाम्रो सङ्गठन अनेरास्ववियु (छैठौँ) को १८ औँ राष्ट्रिय सम्मेलन (२०६८ मंसिर २७—२९ दाङको घोराही) पछि प्रथम राष्ट्रिय परिषद् बैठक चितवनको नारायणगढमा यही बैशाख १३—१५ मा सम्पन्न भएको छ । परिषद् बैठकमा बदलिँदो राजनीतिक परिस्थिति सँगसँगै देशले निर्दलीय व्यवस्थाको अभ्यास गर्ने प्रयत्न गरेकोमा भत्र्सना सहित विरोध गरियो । निर्दलीय व्यवस्थाको अभ्यासको विरोधका बाबजुद संविधान सभाको नयाँ निर्वाचनमा भाग लिने निर्णय गरिसकेको मातृ पार्टी राष्ट्रिय जनमोर्चाको पक्षमा व्यापक जनमत सिर्जना गर्दै त्यस दिशामा अग्रसर हुनेमा पनि परिषद बैठक प्रतिबद्ध रह्यो । परिषद बैठकको अर्को महत्वपूर्ण निर्णय हो ः स्ववियु निर्वाचनमा भाग लिएर सङ्घीयताका विरूद्ध, राष्ट्रिय एकताको पक्षमा तथा शैक्षिक भ्रष्टीकरणका विरूद्धमा आम विद्यार्थीको मत प्राप्त गर्नु ।
२०६५ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल (छैठौँ) ले देशका विभिन्न क्याम्पसमा सभापति सहित आफ्नो उपस्थिति चौथौ स्थानमा कायम गरेको थियो । त्रिभुवन विश्वविद्यालयको अकर्मण्यताका कारण हरेक २÷२ वर्षमा सम्पन्न हुनु पर्ने स्ववियु निर्वाचन ४ वर्षपछि अहिले हुँदैछ । हाम्रो सङ्गठनको पहलकदमी र दबाबबाटै बाध्य भएर विश्वविद्यालयले स्ववियु निर्वाचन घोषणा गरेको हो भन्न सकिन्छ । बिद्यार्थी सङ्गठनहरूबीचको निर्वाचन प्रणालीमा रहेको असहमतिलाई देखाएर सधै निर्वाचन नगरी सार्ने विश्वविद्यालयको योजना असफल पार्दै स्ववियु निर्वाचन सुनिश्चित गर्न हामी सफल भएका छौँ ।
स्ववियु निर्वाचन सम्पन्न गर्ने क्रममा सबै विद्यार्थी सङ्गठनहरूको सर्वसम्मत निर्णयहरू अनिवार्य भएका कारण पहिलेभन्दा यस पटकको स्ववियु निर्वाचन फरक प्रकारले सम्पन्न हँुदैछ । विगतमा प्रत्यक्ष प्रणालीद्धारा गरिने स्ववियु निर्वाचन यस पटक दुबै अखिल (क्रान्तिकारी), जातीय तथा क्षेत्रीयतावादी विद्यार्थी सङ्गठनको अनावश्यक दबाबका कारण मिश्रित प्रणालीमार्फत् हँुदैछ । यसमा एमाले निकट अखिलको भूमिका पार्टीको मूल विशेषता जस्तै ढुलमुले नै रह्यो भने हामीले प्रत्यक्ष प्रणालीबाट नै हुनु पर्नेमा अडान लिए पनि त्यो सम्भव भएन । यद्यपि हाम्रो मत सुरक्षित नै रहेको छ । पहिले स्ववियुको नेतृत्वलाई  सभापति, उपसभापति भनिन्थ्यो भने अब अध्यक्ष उपाध्यक्ष भनिने छ । अध्यक्ष, सचिब र कोषध्यक्षसँगै सदस्यहरूमध्येको आधा सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन भने उपाध्यक्ष, सहसचिव सहित बाँकी अर्थात् आधा सदस्यहरू समानुपातिक रूपमा विद्यार्थी सङ्गठनले नियुक्त गर्नेछ । स्ववियु कति सदस्य रहने ? भन्ने पनि विद्यार्थी सङ्ख्याको आधारमा ७ देखि २१ जना सम्म रहने प्रावधान रहेको छ ।
माक्र्सवादमा विश्वास गर्ने अखिल (छैठौँ) ले स्ववियु निर्वाचनलाई पनि आन्दोलनको मोर्चाकै रूपमा प्रयोग गर्नेछ । २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धिको रक्षा, सङ्गठित विद्यार्थी आन्दोलनको परिचालनका लागि पनि स्ववियु निर्वाचन अनिवार्य छ† तर स्ववियुको नामामा हुने भ्रष्टाचार, कमिशन, अमर्यादित र अनैतिक क्रियाकलापलाई निरूत्साहित गर्न सक्नु वर्तमान विद्यार्थी आन्दोलनको अह जिम्मेवारी पनि हो । आज उपत्यका लगायत मोफसलका क्याम्पसमा स्ववियुको आडमा दिनदहादै भ्रष्टाचार, गुण्दागर्दी, हत्या, आतङ्कको स्थिति छ । स्ववियु निर्वाचनमा आफू विजयी हुने प्रयोजनका लागि विशेष गरी नेविसङ्घ, एमाले निकट अखिल, दुबै अखिल (क्रान्तिकारी) हरूले सयौँको सङ्ख्यामा अनियमित विद्यार्थी भर्ना गर्ने, होटलहरू बुकिङ गर्ने, प्रलोभनमा पारी भोट बटुल्ने जस्ता अशोभनीय प्रकारका काम विगतको निर्वाचनदेखि नै गर्दै आएका हुन् । आसन्न निर्वाचनमा पनि त्यही क्रियाकलाप दोहोरिने निश्चित छ । यसरी खर्च गरेर विजयी भएपछि खर्च परिपूर्तिका लागि विद्यार्थी कल्याणकारी कोषको दुरूपयोग, भ्रष्टाचार र आफ्नो प्रभावमा पारी क्याम्पस प्रशासनलाई समेत आर्थिक लेनदेनमा मुछ्ने गलत प्रवृत्ति छ । यसको हामी विगतदेखि नै विरोध गर्दै आएका छौँ । जब सङ्गठनहरू आफ्नो विचारबाट स्खलित भएर पैसा र शक्तिको भरमा मात्रै विद्यार्थीहरू आकर्षणको प्रतिस्पर्धा गर्छन्, त्यसले सही नेतृत्व विकास गर्न सक्दैन । यस प्रकारका अनैतिक कामहरू गर्छन् भने यसले पक्कै पनि स्ववियु र समग्र विद्यार्थी आन्दोलनको गरिमालाई क्षति पु¥याउने निश्चित छ । त्यसकारण चर्का नारा र प्रलोभनमा पारेर प्रदान गरिने मतले न त विद्यार्थी आदोलनको गौरवमय इतिहास जोगाएर विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याउन सक्छ, न त वर्तमान बुर्जुवा, अबैज्ञानिक र अव्यावहारिक शिक्षालाई विस्थापित गर्ने दिशामा कुनै ठोस भूमिका खेल्न सक्छ । त्यस कारण अहिलेको विषम परिस्थितिमा बैचारिक रूपमा स्पष्ट र आम विद्यार्थीका साथै राष्ट्रको पक्ष लिनु सबै सचेत विद्यार्थी (विशेषतः स्ववियु निर्वाचनका मतदाता) हरूको जिम्मेवारी हो । राष्ट्रियताको रक्षार्थ र विखन्डनकारी सङ्घीयताको खारेजी सँगसँगै आमूल शैक्षिक परिर्वतनका लागि आसन्न स्ववियु निर्वाचनमा अखिल (छैठौँै) का उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउनु अति आवश्यक छ ।

No comments: