Pages

स्ववियु चुनावको मतगणना बिथोलियो

१३ भदौ, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको मतगणना विथोलिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निर्वाचनमा धाँधली भएको भन्दै मतगणना विथोलेको हो । निर्वाचन समितिका अनुसार प्रारम्भिक मतगणनामा नेविसंघको ४६०, अखिल क्रान्तिकारीको ४५० र अखिलको ३०० बढी मत प्राप्त भएका बेला गणना रोकिएको हो ।

प्रचण्डलाई मसालको प्रश्न- मोदीलाई लेखेको चिठी र संविधान संशोधनवीच के साइनो छ ?

१३ भदौ, काठमाडौं । 
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री प्रचण्ड आफ्नो अस्थित्वका लागि भारतको समर्थन प्राप्त गर्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले हालै भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेको र सोही प्रतिवता पूरा गर्न संविधान संशोधन गर्न लागेको सिंहको आरोप छ ।

काठमाडौंको जिशिअलाई कालोमोसो

१५ वैशाख, काठमाडौं । काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
Shankar-Bahadur-Gautamबुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर विप्लवसम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजी तीव्र पारेको छ ।
कालोमोसो दल्ने क्रममा केहि तनाव भएको थियो । जिशिअ गौतमले प्रतिवादसमेत गरेका थिए । सो क्रममा उनी सामान्य घाइतेसमेत भएका छन् ।
गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको पर्चा घटनास्थलमा फेला परेको थियो ।
http://www.onlinekhabar.com/2016/04/420327/

नेपाल कम्युनिष्ट पार्टिको स्थापना .......


नेपाल कम्युनिष्ट पार्टिको स्थापना सन २२ अप्रील १९४९ मा लेनिन जयन्तिको अबसर पारेर भारत स्थित कोलकोता नजिक श्यामबजारको सरकारी टोलालिनामा भएको थियो । पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, निरन्जन गोबिन्द बैद्द्य, नारायण बिलास जोशी सस्थापक रहेको पार्टी अहिले कयौ चिराहरुमा बिभक्त छन ! तर सबैले आफुलाई एक नम्बरको कम्युनिष्ट दाबी गरिरहेका छन । स्थापना दिबसको दिन सबैले ब्यबहारमा कम्युनिष्ट बनेर देखाउ ! सुभकामना !

ओली सरकारमा थपिए मन्त्री, चन्द बने वाणिज्य मन्त्री - दुर्गा खनाल, काठमाडौं


वैशाख ५, २०७३- प्रधानमन्त्री केपी ओलीले सरकारमा एक मन्त्री थपेका छन् । 
राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वाणिज्य मन्त्री नियुक्त भएका हुन् ।

मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सपथ लिएका छन् ।
यो मन्त्रालय राप्रपाको भागमा परेको थियो । 
संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै यो मन्त्रालय पनि 
सम्हाल्दै आएका थिए ।

क्यान विवादमा आइसीसीको धैर्य टुट्दै छः एन्डरसन विवाद समाधान तत्काल नगरे प्रतिवन्ध लाग्नसक्ने संकेत

५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का विकास निर्देशक टिम एन्डरसनले नेपालको क्रिकेट विवाद चाँडो समाधान गर्न दवाव दिएका छन् । दुई क्रिकेट एसोसिएसनबीच आधिकारिता विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेटलाई आइसीसीले लामो समय छुट दिइरहन नसक्ने उनले प्रष्ट पारे ।
एन्डरसनले सरकारद्वारा गठित र निर्वाचित दुवै क्यानसँग छलफल गरेका थिए । छलफलमा आफूले दुवै क्यानलाई सहकार्य गरेर अघि बढ्न सुझाव दिएको र उनीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।
‘नेपालका क्रिकेट खेलाडीको प्रतिभा र समर्थकको उत्साहलाई आइसीसीले अत्यन्त सकारात्मक रुपमा लिएको छ,’ आइतबार पत्रकारमाझ एन्डरसनले भने, ‘तर, यसैका नाममा लामो समय धैर्य गर्न सक्ने अवस्था छैन ।’
उनले विवाद तत्काल नसुल्भिए क्यानमाथि आइसीसीले प्रतिवन्ध लगाउन सक्ने संकेत पनि गरे । तर त्यसो भएको खण्डमा पनि खेलाडीहरु क्रिकेट खेल्नबाट वञ्चित भने नहुने उनको भनाई छ । एन्डरसनले अमेरिकाको उदाहरण समेत दिए, जहाँ क्रिकेट एसोसिएसनमा प्रतिवन्ध छ, तर खेलाडीहरुले खेलिरहेका छन् ।
खेलाडी र समर्थककै कारण आइसीसीले नेपालमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियासँगको खेल आयोजना गरेको उल्लेख गर्दै उनले यस्तो घटना अपवाद मात्रै हुने बताए । एन्डरसनले भने, ‘भोलीका दिनमा आइसीसीले यसरी नेपालमा प्रतियोगिता गराउन सक्दैन ।’
नेपाल-नामिबियाबीच सम्पन्न पहिलो खेलमा दर्शकको उपस्थितिलाई उनले प्रशंसा गरे ।

मेरो म्यान अफ दि म्याच शरदः नेपाली प्रशिक्षक टमाटा

४ वैशाख, काठमाडौं । नेपालले नामिबियाविरुद्ध जित हात पार्दा शदर भेषावकर र विनोद भण्डारीले ८४ रनको विनिङ साझेदारी गरे । शरदले अर्धशतक पुरा गरे भने विनोदले तीन चौका र एक छक्कासहित ४० रनको योगदान दिए ।
तर, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा म्यान अफ दि म्याच हुँदैन । त्यसैले प्रशिक्षक जगत टमाटालाई पत्रकारहरुले सोधे, तपाईको म्यान अफ दि म्याच को हो ?
सुरुमा त उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा म्यान अफ दि म्याच नहुने नै जवाफ दिए । तर, तपाईँको भनेपछि शरदको नाम लिए । उनले भने, ‘जुन इनिङ विल्डअप गर्‍यो, त्यस आधारमा शदर नै म्यान अफ दि म्याच हो ।’
शरदले ९९ बल (१६ ओभर प्लस) बल सामना गरे । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका उनले झण्डै ३५ ओभर खेलेका थिए ।
प्रशिक्षक टमाटाले विनोदले पनि राम्रो पारी खलेको भन्दै उनले प्रशंसा गरे । उनले भने, ८० रनको साझेदारी भएको छ । मैले आफ्नो करियरमा सिंगल डबल खेलेको मैले पहिलो पटक देखेँ । म खुुसी छु ।’
jagat tamata (4)दुई दशकसम्म उमेर समूहको टिमको प्रशिक्षकको भूमिका रहेका टमाटाले पहिलो पटक सिनियर टिम सम्हालेका थिए । उनका अनुसार नेपालले नामिबियालाई १५-२० रन बढी दिएको थियो ।
ब्याटिङमा नरेश बुढायर र ज्ञानेन्द्र मल्लले योजना अनुसार नै खेले । त्यसपछि दुई विकेट केही छिट्टै गुम्यो । तर, शरद र विनोद दुबैले आफूलाई दिएको जिम्मेवारी पुरा गरेको भन्दै उनले भने, नेपालले जितेको छ, म सन्तुष्ट छु ।’
डेब्यू ब्वाई राजु रिजाल र सन्दिप लामिछानेको प्रदर्शनप्रति उनले सन्तुष्टि जनाए । घरेलु दर्शक सामू खेल्दा राजु सुरुमा केही नर्भस भएपनि पछि लयमा आएको उनले बताए । उनले अघि भने, ‘सन्दिपले सोचेभन्दा राम्रो खलेेका छन् । विकेट पनि लिएका छन् र राम्रो ठाउँमा बल फालेका छन् ।’ 
साभार अनलाइनखबरडटकम  http://www.onlinekhabar.com/2016/04/415474/

बिस्व च्याम्पियन्स लिग, नेपाल भर्सेज नामिबियाः सुवास खकुरेलको नजर

नेपालले यो साताको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग खेल्दैछ । अनलाइनखबरले नेपाली टोलीका विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल, जो चोटका कारण यो पटक टिममा छैनन्, उनलाई भेटेर खेलको विभिन्न पक्षबारे कुराकानी गरेका छौं ।उनले शनिबारको म्याचमा ‘६०-४०’ ले नेपाल बलियो रहेको आँकलन गरे । यस्तो छ खकुरेलको विश्लेषणः
अघिल्लो दिन
खेलको अघिल्लो दिन बेलुका टिम मिटिङ हुन्छ । सामान्यतया रातको खाना अगाडि हुने यस्तो मिटिङहरुमा प्रशिक्षकले खेलाडीहरुलाई उनीहरुको भूमिकाबारे सम्झाउँछन् । भोलिको रणनीतिबारे खेलाडीहरुलाई जानकारी गराइन्छ र प्लान ‘ए’ र प्लान ‘बी’ सुनाइन्छ ।
विपक्षी टिमको बलियो पक्ष के हो ? मुख्य व्याट्सम्यान र बलर को हो ? भनेर पनि सोही मिटिङमा छलफल हुन्छ । यसमा प्रशिक्षक र टेक्निकल एनालिस्टको भूमिका हुन्छ । त्यससछि खाना हुन्छ र भोलि कसकसलाई खेलाउने भनेर कप्तान र प्रशिक्षकको मिटिङ पनि हुन्छ । खेलाडीहरुले भने आफ्नो किटब्याग लगायत तयार गर्छन् ।
खेलको दिन
सबै खेलाडीको आ-आफ्नो रुटिङ हुन्छ । जस्तो उनीहरु उठ्ने आफ्नै समय हुन्छ । त्यसपछि मैदान जाने हो । यसले उनीहरुमा आत्मविश्वास बढाउन सहयोग गर्छ ।
टस जिते बलिङ

Sakti-Gauchan
कीर्तिपुरको अहिलेको विकेट कस्तो छ भन्न सकिन्नँ । तर, विगतलाई हेरेर भन्ने हो भने यदि हामीले टस जित्यौं भने बलिङ रोज्नुपर्छ । किनभने पहिलो भन्दा दोस्रो इनिङमा ब्याटिङ सजिलो हुन्छ । विहान चिसो हुन्छ र बल रोकिएर आउछ । दिउँसो घाम लागेपछि विकेट फ्ल्याट बन्छ ।
हामीले अहिलेसम्म पाएको सफलता पनि धेरै चेज गरेर पाएका छौं । डिभिजन ४ देखि विश्वकप छनोटसम्म नै हामीले चेज गरेर नै धेरै खेल जितेका छौं । त्यसैले मलाई नेपाल टिम चेजिङ टिम पनि हो जस्तो लाग्छ ।
नेपालको बलिङ राम्रो भएकाले पनि विपक्षीलाई सस्तो योगफलमा रोक्ने र धेर्यतापूर्वक व्याटिङ गरेर त्यसलाई पछ्याउने रणनीति प्रभावकारी हुन्छ ।
नेपालको ओपनिङ
हाम्रो टिम सन्तुलित छ । व्याट्सम्यानहरु अनुभवी छन् र बलरहरु पनि फर्ममा छन् । ओपनीङ ब्याट्सम्यानको कुरा गर्दा मेरो विचारमा एकातिर नरेश बुढायर हुनेछन् भने उनलाई ज्ञानेन्द्र मल्लले साथ दिनेछन् ।
नरेशले ओपनिङ ब्याट्सम्यानका रुपमा राम्रो गर्दै आएका छन् । ज्ञानेन्द्रले नियमित रुपमा तेस्रो नम्बरमा खेले पनि विगतमा ओपनिङ गरेको अनुभव उनीसँग छ । त्यसपछि सागर पुन आउने छन् । उनले अहिले तेस्रो नम्बरमा राम्रो गरिरहेका छन् ।
मिडल अडर
विनोद भण्डारी, राजेश पुलामी, पारस खड्का र शरद भेषावकरसहितको नेपाली मिडल अडर निकै बलियो छ । लो मिडल अर्डरमा शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीले पनि आवश्यक पर्दा ब्याटबाट योगदान दिन सक्छन् ।
हो, हामीले विगत दुई तीन वर्षमा जुन लेभलको क्रिकेट खेल्यौं, त्यो अहिले मैले देखेको छैन । हामीले २/३ महिना क्रिकेट नै खेलेनौं, त्यसले पनि अलिकति असर परेको छ । आश गरौं, हाम्रो ब्याटिङ लयमा आउँछ । विनोदले हामीलाई धेरै खेल जिताएका छन् । शरद निकै अनुभवी हुन्, १०/१२ वर्ष भइसक्यो उनले खेल्न थालेको । त्यसैले यो पटक स्कोर राम्रो बन्छ होला ।
व्याटिङमा देखिएको समस्याको कुरा जति गरेपनि अन्तिममा एक्स्पोजर नै आउँछ । हामीले यहाँ खेल्ने अभ्यास खेलहरुमा टप ४/५ नम्बरको ब्याट्सम्यानले नै खेल सकाउँछन् । फिनिसरको भूमिकामा रहेका ६/७ नम्बरका व्याट्सम्यानले त ब्ययाटिङको मौका कमै पाउछन् । यदि राम्रो टिमसँग खेलेको भए उनीहरुले मौका पाउँथे । कहिलेकाहीँ उनीहरुले नै जिताउनु पर्ने हुन्छ । यसले गर्दा राम्रो फिनिस हुन पाउँदैन ।
सम्माजनक स्कोर
मेरो विचारमा कीर्तिपुरमा २५० रन सम्मानजनक स्कोर हो । यति रन बनाएपछि जित्छ भन्ने त होइन, तर विपक्षीलाई दवावमा राख्न सकिन्छ । हाम्रो कुनै एक ब्याट्सम्यानले लामो इनिङ खेल्नुपर्छ र अरुले आक्रामक ब्याटिङ गर्नुपर्छ । लामो इनिङ खेल्ने ब्याट्सम्यान जो पनि हुनसक्छ ।
विपक्षी टिम
Namibian-team
यू-१९ विश्वकपमा हामीले नामिबयाविरुद्ध खेल्दा अहिलेका कप्तान स्टुआर्ड बार्ड टिममा थिए । २००३ मै विश्वकप खेलेको नामिबिया लगातार यही लेभलमा खेलिरहेको छ । उसको प्रगति सुस्त छ ।
तर, उनीहरुको सिस्टम छ र एक्पोजर छ । नामिबियाका खेलाडीहरुले दक्षिण अफ्रिका र अन्य देशमा गएर धेरै क्रिकेट खेल्दै आएका छन् । हरेक खेलाडीले कम्तिमा ४०/५० लिस्ट ए खेल खेलेका छन् ।
तर, क्षमता र प्रतिभाका आधारमा हेर्नु भयो भने नेपाल अगाडि छ । कीर्तिपुरमा स्लो टर्निङ विकेट छ । जहाँ स्पिनरहरुले खेल जिताउन सक्छन् र यो पार्ट हाम्रो बलियो छ ।
उनीहरुको ब्याटिङ बलियो पक्ष हो । स्कल्स, कड एक्सन छन् । नामिबियाका बलर पनि राम्रा छन् ।
तर, हामीले पनि ठूलो टिमलाई हराउन जानिसकेका छौं । मलाई लाग्छ नेपालको पक्षमा ६०-४० छ ।
नयाँ खेलाडी

Sndip-and-Susan
नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाउने मौका पाएका छन् । उनीहरुले घरेलु मैदानमा खेल्दैछन् र सिनियरहरुले सहयोग गर्नेछन् । तर, खेलाउने नखेलाउने प्रशिक्षकले निर्णय गर्छन् । यदि राम्रो गर्न सकेनन् भने क्राउडले गर्ने व्यवहारले उनीहरुलाई निराश पनि बनाउन सक्छ । यदि राम्रो गर्न सके भने अझ उत्साहित भएर आउनेछन् ।
मलाई लाग्छ उनीहरुलाई म्याच एक्पोजरको जरुरी छ, जुन हामीले पाएका छैनौं । हाम्रो राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष हुन लागिसक्यो । एसीसीले गर्ने प्रतियोगिताहरु पनि हटेको छ । यसतर्फ सरोकारबालाहरु बेलैमा सचेत हुनुपर्छ । 

तीन घन्टा कुरेर एक गाग्रो पानी

२ वैशाख, पाल्पा । वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन् ।
मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन् ।
गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन् ।
मुझुङ्ग–१, २, ७ र ८ का झन्डै २०० घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ–फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई यतिबेला पानीको जोहो गर्न समस्या भएको छ ।
पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुङ्ग–७ स्थित लामटाङ्गेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीयवासी सुमित्रा दर्नालले बताए । उनले भने –“तीन घन्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरू पानीका मुहान सुकेपछि सबैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ । त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाइधुवाइ गर्न त छहरा–५ मङ्गालको खोलामा जानुपर्छ ।”
गत वर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएर यसपालि पानीका मुहान छिट्टै सुकेको स्थानीय बूढापाका बताउँछन् ।
भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यस वर्ष माघ–फागुनमा नै एक दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन् । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान सुकेपछि गृहिणी तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका हुन् ।पानीका मुहान सुकेपछि पानीको मुहानको खोजीमा तानसेन नपा, पालुङ्गमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थान गाविस लगायतका गाविसमा पानीको निकै समस्या रहेको छ । ;|f]t M onlinekhabar.com

धरहराः ११ तले बनाउन प्रस्ताव,

२ वैशाख, काठमाडौं । भूकम्पले ढालेको धरहरा कस्तो बनाउने ? धेरैको जवाफ हुनसक्छ, र बलियो र पहिलेको जस्तै । तर, अब बन्ने धरहराको स्वरुप तपाईंले यसअघि देखेको भन्दा फरक हुन सक्छ । किनभने सरकारले अब ९ तले नभएर ११ तले बनाउन प्रस्ताव गरिएको छ ।

भीमसेन थापाले बनाएको धरहरा सुरुमा ११ तले थियो । वि.सं.१९९० को महाभूकम्पमा २ तला भत्किएर ९ तलामा सीमित भयो । जुद्ध सम्शेरले ९० सालको भूकम्पमा भाँचिएको दुई तला नथपी नौ तलामै सीमित राखेर पुनर्निर्माण गराएका थिए ।
गत वैशाख १२ को भूकम्पमा फेदैदेखि ढलेको धरहरा पुरातत्व विभागले अब १९९० कै स्वरुपमा बनाउने तयारी गरेको छ । तर, यसबारे अन्तिम र औपचारिक निर्णय भने भएको छैन ।
अब धरहरा ११ तले बनाउनेबारे सरकारी अधिकारी, पुरातत्वविद र सुन्धाराका स्थानीयसँग ब्यापक छलफल र बहसपछि मात्रै अन्तिम निर्णय गरिने पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।
  • उचाइ बढाउन प्रस्ताव

नयाँ प्रस्तावअनुसार निर्णय भएमा धरहरा वि.सं. १८६२ मा भीमसेन थापाले बनाएकै स्वरुपमा फर्कनेछ । यसअनुसार भत्किनुअघि २ सय ३ फिट अग्लो धरहरा अब २ सय ४५ फिट अग्लो बन्नेछ । अब सातौं तलाको बार्दली ९ औं तलामा राखिनेछ ।
पुरातत्वविदले १९९० माघ २ गतेको भूकम्पअघिको धरहरा स्वरुप र बनोटबारेको विस्तृत विवरण विभागमा बुझाइसकेका छन् । पुरात्वविदले धरहराको मौलिक स्वरुप ११ तलाको नै भएकाले अब स्थापनाकालको जस्तै बनाउनुपर्नेमा जोड दिएका छन् ।
१९९० अघिका तस्वीर र विभिन्न प्रमाणहरु पनि समेत सुरक्षित रहेकाले ११ तलाको धरहरा निर्विवादित रहेको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।
  • भूकम्प प्रतिरोधी बन्ने

पुनर्निर्माण हुने धरहराको अग्लाइसहित न्युनतम पुर्वाधारको सीमाहरु तोकेर विभागले ६ वटा इञ्जिनियरिङ कन्सल्टेन्सीलाई त्यसको उपयुक्त ड्रोइङ/डिजाइन पेश गर्न भनेको छ ।
उनीहरुले दिनेमध्ये सबैभन्दा उत्कृष्ट ड्रोइङ-डिजाइनलाई स्वीकृत गरेर धरहराको पुनर्निर्माण अघि बढाउने तयारी गरिएको छ । अब बन्ने धरहरा भूकम्प प्रतिरोधी बन्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । यसको उचाइबाहेक बाहिरी स्वरुपमा कुनै परिवर्तन गर्ने तयारी छैन ।
  • लिफ्ट राख्ने तयारी

तर, यसका भित्री स्वरुपमा भने आमूल परिवर्तन हुनेछन् । धरहरामा अब लिफ्ट पनि प्रयोग गरिनेछ । पहिलेकै स्वरुपमा भर्‍याङसमेत राखिने छ ।
तर, अत्यााधुनिक लिफ्टमार्फत पनि धरहरा चढ्न सकिनेछ । कुनैबेला आकस्मिक रुपमा बाहिरिन पनि लिफ्ट राख्नैपर्ने विभाग स्रोतले बतायो । लिफ्ट राखेरै डिजाइन तयार गर्न सीमा तोकिएको छ ।
  • तीनतले भूमिगत पार्किङ !

अब धरहरा हेर्न र चढ्न जानेलाई पार्किङको पनि समस्या हुने छैन । अब धरहरामुनि ३ तलासम्मको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न प्रस्ताव गरिएको छ । यसमा साना गाडी र मोटरसाइकलहरु पार्क गर्न सकिने छ । धरहराभित्र स्मृति पार्क स्थापना गर्ने तयारी पनि छ । तर, धरहराको जग्गा एकदमै कम भएकाले समस्या आउन सक्ने विभागका अधिकारी बताउँछन् ।
  • जग्गाको समस्या

धरहरा छेउमै टक्सार विभागको जग्गा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ । तर, त्यसमा अर्थ मन्त्रालयले सहमति दिन आनाकानी गरेको स्रोतले बतायो । धरहरा छेउमा टक्सार विभागको झण्डै १० रोपनी जग्गा उपयोगविहीन अवस्था छ । त्यसलाई पनि समेटेर धरहरा आसपास पार्क बनाउने तयारी छ ।
  • सरकारको खातामा २५ लाख मात्रै
  • सरकारले धरहरा जनताकै लगानीमा पुनर्निर्माण गर्ने घोषणा गरिसकेको छ । लागत अनुमान सार्वजनिक नगरे पनि ‘म बनाउँछु धरहरा’ अभियान चलाएर सरकारले बैंकमार्फत जनतासँग रकम पठाउन थालिसकेको छ । तर, त्यसमा रकम जम्मा गर्न नागरिकहरु खासै उत्साहित भएका छैनन् ।यो खातामा अहिलेसम्म झण्डै २५ लाखमात्रै उठेको छ । ;|f]t M onlinekhabar.com

म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस

म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ६.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का भारतको दिल्लीका साथै नेपालमा समेत महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालका पूर्वीसहितका भागमा भूक्म्पको धक्का महसुस भएको हो ।
;|f]t M onlinekhabar.com

एसएलसी ः नियम फेरिएको फेरियै


एसएलसी ः नियम फेरिएको फेरियै
निश्चल क्षेत्री

२०७२ सालको एसएलसी नेपाली शिक्षा जगतमा स्मरणीय हुने छ । त्यसको प्रमुख एउटा कारण पुरानो संरचनाबाट नयाँ संरचनाको सुरुवात हो भने दोस्रो मुख्य कारण नेपालको शिक्षा जगतको बिर्सनलायक इतिहासको विरासत मेटाउने वा नमेटाउने भन्ने हुने छ ।
यही चैत्र १८ गतेबाट सुरु हुने एसएलसीको सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले जानकारी गराए । यो वर्ष नियमित र एक्जाम्टेड गरी छ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थी सहभागी हुँदैछन्, जसमध्ये नियमिततर्फ प्राविधिक सहित चार लाख ५६ हजार एक सय ३६ विद्यार्थी छन् भने एक्जाम्टेड ्तर्फ एक लाख ५९ हजार चार सय १७ रहेका छन् । केही विद्यार्थीहरू ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षामा सहभागी हुन पाउने छैनन् । परीक्षा सञ्चालनका लागि देशभरिमा एक हजार नौ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी कुल ७२ हजार आठ सय ९६ कर्मचारी (जनशक्ति) परिचालित हुनेछन् ।

विगतकोभन्दा भिन्न ढाँचामा सुरुवात हुन गइरहेको एसएलसी परीक्षामा वैशाख १२ गतेको शक्तिशाली भूकम्प प्रभावित विद्यार्थीहरूले त्रिपालमै परीक्षा दिँदैछन् । नयाँ ढाँचाको सुरुवात गरेको परीक्षा नियन्त्रण कार्यालयले परीक्षासँग सम्बन्धित कैयौँ नियमहरू परीक्षाको सङ्घारमा मनलागी फेरबदल गरेका कारण विद्यार्थी तथा अभिभावकहरू चिन्तित देखिन्छन् ।
सुरुवाती लेटर ग्रेडिङ एसएलसी भएकाले यसका बारेमा जिज्ञासा हुनु स्वाभाविक हो । तर एउटा जिज्ञासा बल्लतल्ल मेटाएका विद्यार्थीहरूलाई नियमहरूको फेरबदलले जिज्ञासासँगै मानसिक अस्थिरता पनि सिर्जना गरेको छ । पाठ्यक्रम तथा मूल्याङ्कन परिषदले २३ मङ्सिरमा गरेका कैयौँ निर्णयहरू स्वयं चैत्र ६ गते फेरबदल गरेको छ । पहिले बिद्यार्थीको मूल्याङ्कन ९ वटा ग्रेडमा छुट्टयाउने निर्णय भए पनि समग्रमा ग्रेडिङ गरी परिणाम दिने निर्णय थियो । सो निर्णय बदर गरेर अहिले कुन विषयमा कति अङ्क ल्याएको छ ? त्यो अनुसार विषयगत गे्रडिङको परिणाम दिने निर्णय गरेको छ ।
यसरी विद्यार्थीको गे्रडिङको परिणाम सबै विषयको कुल जोडमा होइन कि प्रत्येक विषयको छुट्टा छुट्टै ग्रेडिङ गरी निकालिने छ । अघिल्लो निर्णय बदर गर्नु पर्ने र दोस्रो निर्णय वा व्यवस्था गर्नु पर्ने खास कारण परीक्षा नियन्त्रण कार्यालय वा शिक्षा मन्त्रालयले आजसम्म दिन सकेको छैन । परीक्षाको सङ्घारमा अनावश्यक रूपमा गरिने नियमहरूको परिवर्तनले अन्यौलता त थपेको छ नै, गरिएका निर्णयहरू हचुवाको भरमा गरिएका रहेछन भन्ने पनि पुष्टि भइरहेको छ । साथै पछिल्ला निर्णयहरू पनि कति दिनसम्म टिक्ने हुन भन्ने गम्भीर प्रश्न उत्पन्न गराइ दिएको छ ।
यसै गरी ९ वटा ग्रेडिङमा विभाजन गरिएको मूल्याङ्कन पद्धतिमा परीक्षामा सामेल नहुने विद्यार्थीका लागि राखिएको “एन” हटाएरर “डी प्लस” गे्रडिङ थपिएको छ । अब विषय अनुसार ९०देखि १०० अङ्क ल्याउने “ए प्लस”, ८०देखि ८९सम्म “ए”, ७०देखि ७९ “बी प्लस”, ६०देखि ६९सम्म “बी”, ५०देखि ५९सम्म “सी प्लस”, ४०देखि ४९सम्म “सी”, ३०देखि ३९सम्म “डी प्लस” २०देखि २९सम्म “डी” र ०देखि २०सम्म अङ्क ल्याउनेलाई “इ” ग्रेडमा विभाजन गरिने छ ।
पुरानो मूल्याङ्कन पद्धतिमा चार वटा विषयहरू अनिवार्य अङ्ग्रेजी, विज्ञान, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण र ऐच्छिक द्वितीय विषयमा २५÷२५ अङ्कको प्रयोगात्मक परीक्षा हुन्थ्यो । अहिले पनि सो प्रयोगात्मक परीक्षाको व्यवस्था कायमै छ । तर ग्रेडिङ गर्दा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको नम्बर एकमुष्ठ दिने चैत्र ६ गतेको निर्णयले विद्यार्थीहरूको सही मूल्याङ्कन नहुने हो कि भन्ने आशङ्का उत्पन्न गराइ दिएको छ । पहिलेको निर्णय सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको ग्रेडिङ छुट्टा छुट्टै गर्ने थियो । सैद्धान्तिक र प्रयोगात्मक ज्ञान फरक फरक हुन् । कोही विद्यार्थीले सैद्धान्तिक परीक्षामा राम्रो गर्न सक्छ तर प्रयोगात्मक परीक्षामा नराम्रो हुन सक्छ । कोही विद्यार्थीको प्रयोगात्मक क्षमता राम्रो हुन सक्छ भने सैद्धान्तिक ज्ञानमा नराम्रो हुन सक्छ । साथै दुवैमा राम्रो वा दुवैमा नराम्रो पनि हुन सक्छ । त्यसै कारण मूल्याङ्कन पनि छुट्टा छुट्टै गर्ने हो भने विद्यार्थी र समग्र शैक्षिक जनशक्तिप्रति न्याय हुने छ ।
प्रयोगात्मक विषयमा प्रायः सबै विद्यालयले शत्प्रतिशत अङ्क दिने गरेको पाइन्छ । क्षमता कमजोर हुने विद्यार्थीले सैद्धान्तिक परीक्षामा कम्तीमा पनि पाँच अङ्क मात्रै ल्याए पनि स्वतः “डी प्लस” ग्रेड आउने छ । यदि दुवैलाई छुट्याएर ग्रेड गर्ने हो भने २५ अङ्क प्रयोगात्मक परीक्षामा ल्याउँदा “ए प्लस” मा पर्छ भने सैद्धान्तिकमा पाँच नम्बर आयो भने “इ” ग्रेडमा पर्ने छ । त्यसकारण दुवै प्राप्ताङ्क जोडेर औसत ग्रेड छुट्टयाए मात्रै विद्यार्थीको सहि मूल्याङ्कन हुने छ । यो निर्णयले क्षमता कम भएका र माथिल्लो तह अध्ययन गर्न नसक्ने विद्यार्थीहरूको जमात बढाउने छ । जुन उद्देश्यका लागि लेटर गे्रडिङ पद्धति लागु गर्ने भनिएको छ, त्यो अधुरो नै हुने छ ।
पछिल्लो समयमा पहिलेका निर्णयहरू फेरबदल गर्दै ग्रेडसिटमा स्तरीकृत अङ्क (जिपिए) राख्ने, समग्र ग्रेड नराख्ने, सैद्धान्तिक र प्रयोगात्मकको कुल प्राप्ताङ्कमा गे्रड दिने, “डी” ग्रेडलाई टुक्राएर “डी प्लस” थप्ने र शुन्यदेखि २०लाई “इ” ग्रेड दिने नयाँ निर्णयहरू भएका छन् । निर्णयहरू लिँदा दीर्घकालीन सोच राखेर नलिने प्रवृत्तिका कारण पछिल्ला निर्णयहरू पनि कति बेला फेरिने हुन् ? यसै भन्न सकिँदैन ।
अन्तमा, सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना ।

एसएलसीमा ग्रेडिङ्ग तयारी कम अन्यौल ज्यादा

एसएलसीमा ग्रेडिङ्ग तयारी कम अन्यौल ज्यादा
 निश्चल क्षेत्री
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट २३ मंसिर २०७२ मा स्वीकृत भई भोली पल्टै शिक्षा मन्त्रालयको निर्णय अनुसार एसएलसीमा ग्रेडिङ्ग पद्धति मार्फत गरिने मूल्यांकनको तयारी कम, अन्यौल ज्यादा देखिएको छ । उक्त निर्णयमा “प्रमाणपत्र तथा लब्धांकपत्रमा उत्तिर्ण÷अनुत्तिर्णको व्यवस्था रहने छैन् । त्यसको सट्टा सम्रग ग्रेड दिइनेछ” भन्ने उल्लेख गरिएको छ । पछिल्लो समय अधिकांश विद्यार्थीहरु “फेल नै नभइने भयो” भन्दै मख्ख परेका छन भने प्राय आफ्नो विषयमा फेल भैरहने विगतको समस्या रहेका अंग्रेजी, गणीत तथा विज्ञान विषयका विषय शिक्षकहरु पनि यस बर्षबाट विद्यार्थी पास गराउन नसक्ने भन्ने आरोपबाट “मुक्ति पाइने भो” भनेर दङ्ग परेको देखिन्छ । वास्तवमा यो बुझाईको समस्या हो । यसले विद्यार्थीहरुको पढाईप्रतिको लगाब घटेको देशैभरीका अभिभावकको गुनासोबाट पुष्टि हुन्छ । ग्रेडिङ्ग प्रणाली मूल्याकंनको अन्तरराष्ट्रिय स्थापित मापदण्ड हो । तर मूल्यांकनको राम्रो मापदण्ड भैकन पनि आफैमा उत्कृष्ट मापदण्ड भने होइन । अझ नेपालमा पहिलो पटक लागु हुदैछ, यसका आन्तरिक चुनौतिहरुको बारेमा जानकारी नै नहुनु दुभाग्र्यपूर्ण अवस्था हो ।

एसएलसीमा अक्षराङ्कन (ग्रेडिङ)

एसएलसीमा अक्षराङ्कन (ग्रेडिङ)

निश्चल क्षेत्री
नेपालमा एसएलसी परीक्षालाई फलामे ढोका मानिँदै आएको छ । वि.स. १९९० मा चन्द्र शम्शेरले एसएलसी पास गरेपछि एसएलसी पढ्ने र पास गर्नेहरूको सङ्ख्यामा क्रमशः बढोत्तरी हुँदै गयो । २०७२ सालको एसएलसी ८४ औँ संस्करणमा सधै अपनाइने अङकन पद्धति परिवर्तन गरी अक्षराङ्कन पद्धति लागु गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । 
एसएलसी भनेको स्कुले जीवनको अन्त्य तथा कलेज जीवन वा उच्च शिक्षाको सुरूवात हो । नेपालमा एसएलसी वा माध्यमिक तहलाई कक्षा १०सम्म मान्ने गरिन्छ तर विश्वभरि माध्यमिक शिक्षालाई कक्षा १२ सम्मको अध्ययनले प्रतिनिधित्व गर्दछ । नेपालको माध्यमिक शिक्षालाई पनि कक्षा १२ सम्मको बनाउने योजना नबनेका भने होइनन् । त्यसलाई कार्यान्वयन गर्ने स्थितिमा मात्रै राज्य पुगिसकेको छैन ।
एसएलसीको विगत ८३ औँ संस्करणमा प्रायः सबै विषयको पूर्णाङ्क १०० तथा उत्तिर्णाङ्क ३२ रहँदै आएको पद्धतिलाई अब लागु हुने अक्षराङ्कन (ग्रेडिङ) ले नयाँ स्वरूप प्रदान गर्ने छ । सरकारले अघि सारेको योजना अनुरूप अब एसएलसीमा पास र फेलको व्यवस्था हुने छैन । तर विद्यार्थीहरूको बीचको बौद्धिकताको मापन नम्बर वा पहिले जस्तो डिभिजन जस्तै प्रथम, द्वितीय, तृतीय नभएर ग्रेड जस्तै, ए प्लस, ए, बी प्लस, बी, सी, डी, ई र एन गरी जम्मा नौ ग्रेडहरूमा विद्यार्थीको बौद्धिकतालाई वर्गीकरण गरिने छ । 
अब लागु हुने अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा कुन विद्यार्थीको कति अङ्क प्राप्त भयो भन्ने विद्यार्थीहरूबीचको उत्सुकता रहने छैन । पहिला नेपाल सरकारले नै बोर्ड प्रथम घोषणा गर्ने गरेकोमापछि त्यो व्यवस्था हटिसकेपछि धेरै अङ्क ल्याउने विद्यार्थीहरूमा बोर्ड प्रथमको घोषणा स्वयमले गर्दै आएका थिए । यस खालका विकृतिहरू अक्षराङ्कन पद्धतिमा रहने छैन । वर्षभरि अध्ययन गरेर मात्र ३ घण्टाको समय अवधिमा जसले राम्रो लेख्न सक्यो, त्यही विद्यार्थी उत्कृष्ट वा अव्वल सावित हुने अव्यावहारिक पद्धतिलाई विस्तारै यस प्रकारको सुरूवातले विस्थापन गर्नु पर्ने आवश्यकता छ । तर अक्षराङ्कन पद्धति पनि त्यति व्यावहारिक भने छैन । पहिले अङ्कमा विद्यार्थीको बौद्धिताको मापन गरिनेमा अहिले निश्चित अङ्कलाई एउटा अक्षरको दायराभित्र ल्याएर विद्यार्थीहरूबीचको बौद्धिक अन्तर कम गर्ने प्रयास मात्रै हो । यसका पनि आफ्नै जटिलता छन् । राज्यले नयाँ पद्धति लागु गर्ने निर्णय त गरेका छ तर कार्यान्वयन गर्ने स्तरका कर्मचारी, प्राविधिकहरूको अभाव अर्को गम्भीर समस्या हो । 
विश्वभरिको शैक्षिक अवस्थाको मूल्याकङ्न गर्दा प्रायः सबै देशहरूले माध्यमिक, तथा उच्च शिक्षालाई नै अक्षराङ्कन पद्धतिमा सञ्चालन गरेको पाउँछौँ । विश्वभरिको मूल्याङ्कनको पद्धति एउटै अर्थात अक्षराङ्कन भए पनि अक्षराङ्कन पद्धतिभित्रका केही आधारभूत तत्वहरू भने सबैका फरक फरक रहेका छन् । दक्षिण एसियामा नै अक्षराङ्कन पद्धति लागु नगर्ने नेपाल मात्रै एउटा देश हो । जसले अबबाट लागु गर्ने योजना बनाएको छ । भारतले माध्यमिक तहको शिक्षालाई ९० प्रतिशतभन्दामाथि अङ्क ल्याउनेलाई एक्सेलेन्ट, ७०देखि ८९ प्रतिशत अङ्क ल्याउनेलाई फस्र्ट डिभिजन, ५०देखि ६९ प्रतिशत अङ्क ल्याउनेलाई सेकेण्ड डिभिजन, ४०देखि ४९ प्रतिशत अङ्क ल्याउनेलाई पास गरी विभाजन गरेको छ । तर भारतकै अन्य विश्व विद्यालयहरूले आ–आफ्नै प्रकारले अक्षराङ्कन पद्धति लागु गरेको पाइन्छ ।
त्यसै गरी जापानमा ग्रेडिङ पद्धतिको निर्धारण यस प्रकारले गरिएको पाइन्छ । ९०देखि १०० प्रतिशतलाई एए अथवा ती, ८०देखि ८९ प्रतिशतलाई ए, ७०देखि ७९ प्रतिशतसम्मलाई बी, ६०देखि ६९ प्रतिशतसम्मलाई सी, ०देखि ५९सम्म फेल (इ र एफ) गरी अक्षराङ्कन पद्धतिमा वर्गीकरण गरिएको छ । तर पाकिस्तानमा भने अक्षराङ्कन पद्धतिको मापदण्ड फरक छ । ८० वा सोभन्दा माथिलाई एक्सेलेन्ट (ए वन), ७०देखि ८०सम्म भेरी गुड (ए), ६०देखि ७०सम्म गुड (बी), ५०देखि ६०सम्म फेयर (सी), ४०देखि ५०सम्म एक्सेप्टेबल (डी) ३३देखि ४०सम्म जस्ट पास (ई), ०देखि ३२सम्म फेल्ड (एफ) मान्ने गरिएको छ ।
उत्तर कोरियाले पनि आफ्नो माध्यमिक शिक्षालाई अक्षराङ्कन पद्धति अन्तर्गत नै मूल्याकङ्न गर्ने गरेको छ । उसले आफ्ना माध्यमिक तहका विद्यार्थीहरूको मूल्याङ्कन नौ ग्रेडमा यस प्रकारले गर्ने गरेको छ । ९६देखि १००सम्म ग्रेड १, ८९देखि ९६ ग्रेड २, ७७देखि ८९सम्म ग्रेग ३, ६०देखि ७७सम्म ग्रेड ४, ४०देखि ६०सम्म ग्रेड ५, २३देखि ४०सम्म गे्रड ६, ११देखि २३सम्म ग्रेड ७, ४देखि ११सम्म ग्रेड ८ र ०देखि ४सम्म ग्रेड ९ गरी वर्गीकरणको आधार तयार पारेको छ ।
यसरी विश्वभरिका देशहरूको आफ्नो शिक्षाको स्तरोन्नतिका लागि विभिन्न खालका आधारहरू निश्चित गरी शैक्षिक गुणस्तरको मापन गर्ने गरेका छन । सबै देशका आधारभूत मूल्याङ्कन पद्धति अक्षराङ्कन भए पनि प्रतिशतहरूको अन्तर, ग्रेडहरूको समूहमा भने भिन्नता रहेको छ । रूसले माध्यमिक शिक्षाको ग्रेड भिन्न प्रकारले निर्धारण गरेको पाइन्छ । ९३देखि १०० प्रतिशतसम्म ५ प्वाइन्ट, ८२देखि ९२सम्म ४ प्वाइन्ट, ७७देखि ८४सम्म ३ प्वाइन्ट, ७६भन्दा तल २ प्वाइन्ट दिने गरेको छ ।
यसै गरी बेलायतको अक्षराङ्कन पद्धतिलाई फस्र्ट क्लास वनर्स (फस्र्ट), सेकेण्ड क्लास वनर्स, अपर डिभिजन (२ः१), सेकेण्ड क्लास वनर्स, लोअर डिभिजन (२ः२), थर्ड क्लास वनर्स (थर्ड), अर्डिनरी डिग्री (पास) गरी विभाजन गरेको छ भने अमेरिकाको अधिकांश स्कुल तथा विश्व विद्यालयहरूमा ५ ग्रेडमा विभाजन गरी ९०देखि १००सम्म ए ग्रेड, ८०देखि ८९सम्म बी ग्रेड, ६७देखि ७९सम्म सी ग्रेड, ६०देखि ६६सम्म डी ग्रेड, ०देखि ५९सम्म एफ र ई ग्रेड मान्ने गरिएको पाइन्छ ।
नेपालमा लागु गर्न लागिएको अक्षराङ्कन पद्धति पनि विश्वभरिका देशहरूले अवलम्बन गर्ने गरेको आधार स्तम्भमा बनाइँदै छ । मूलतः अङ्क पद्धतिलाई अन्त्य गर्दै सरकारले विद्यार्थीको सिकाइ क्षमतालाई प्रमाणीकरण गर्ने, सिकाइ अङ्कन गर्दा देखिने अङ्कगत स्तरलाई नौ वटा अक्षरगत स्तरमा सूचित गर्ने र शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुण स्तर प्रवद्र्धन गर्ने उद्देश्य राखेर ग्रेडिङमा मूल्याङ्कन सुरू गर्न लागेको छ । यसरी गरिने ग्रेडिङको आधार वा अन्तर यस प्रकारको रहने छ ः ९०देखि १०० प्रतिशत अङ्कलाई ए प्लस ग्रेड, ८०देखि ९०सम्म ए, ७०देखि ८० सम्मको अङ्कलाई बी प्लस ग्रेड, ६०देखि ७० सम्मको अङ्कलाई बी ग्रेड, ५०देखि ६०सम्म सी प्लस ग्रेड, ४०देखि ५० सम्मलाई सी प्लस ग्रेड, २०देखि ४०सम्म डी ग्रेड, १देखि २०सम्म ई ग्रेड दिइने कार्यविधि बनाइएको छ । खाली कपि आउने भएमा एन अर्थात् नट ग्रेडेड राख्ने व्यवस्था छ ।
अबको एसएलसीमा कोही पनि विद्यार्थीहरू अनुत्तिर्ण हुने छैनन् । तर ग्रेड अनुसार उच्च मावि तहमा कम ग्रेड आउने विद्यार्थीहरूले आफूले चाहेको विषय पढ्न भने पाउने छैनन । एसएलसीमा कमजोर नतिजा भएका विद्यार्थीहरूलाई स्फट स्किलका कार्यक्रमहरूमा भर्ना लिइने छ । डी वा डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहे माध्यमिक शिक्षा उत्तिर्ण शिक्षा समितिको निर्णय बमोजिम हुने ग्रेड बृद्धिको परीक्षामा सामेल हुन पाउने छन् । तर दुई विषयभन्दा बढी विषयमा डी ग्रेड र डी ग्रेडभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले यो अवसर पाउने छैनन । बरू उनीहरू आगामी बर्षको मूल परिक्षामा सहभागी हुन पाउने छन् । यसरी लागु गर्न लागिएको अक्षराङ्कन पद्धतिका पनि आˆनै सीमितताहरू छन् । राज्यले उक्त सबै पक्षहरूको अध्ययन गरेर उपलब्धिपूर्ण पद्धति बनाउनमा ध्यान पुर्‍याउनु आवश्यक छ अन्यथा हचुवाको भरमा लागु गरिने नयाँ पद्धतिहरूले कयौँ पुस्ताको शैक्षिक भविष्यसँगै समग्र देशको भविष्यलाई अन्धकारमा ढकेल्ने छ ।
नेपालमा कैयौँ नयाँ पद्धतिहरू लागु गर्दा सम्बन्धित पक्षहरूसँग राय, सल्लाह नलिने, राष्ट्रको हितलाई केन्द्रमा नराख्ने केवल दातृ निकायको आड–भरोसामा हिँड्ने गरेको तितो यथार्थ हामीसँग छ । त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तहमा केन्द्रीय क्याम्पसमा सेमेस्टर पद्धति लागु त गर्‍यो तर योजना बनाइए जस्तो अन्य आङ्गिक क्याम्पसहरूमा लागु गर्न सकिरहेको छैन । केन्द्रीय क्याम्पसमा पनि सेमेस्टर प्रणाली करिब करिब असफल भएको हो कि भन्ने भान आम शिक्षाप्रेमीहरूले गरिरहेका छन् । त्यसै गरि ग्रेडिङ पद्धति पनि नहोस्—हाम्रो शुभकामना ।
तत्कालका लागि नेपालमा दुई खाले शिक्षाका स्वरूपहरू छन् । सरकारी र निजी । सरकारीको तुलनामा निजी विद्यालयहरूले विद्यार्थीहरू धैरै मात्रामा उत्तिर्ण गराउन त सफल भएका छन् तर तिनीहरूको भविष्य सुनिश्चित गर्न भने न त सरकार सफल भएको छ, न उत्तिर्ण गराउने निकायहरू नै सफल भएका छन । ग्रेडिङ पद्धति लागु गर्नका लागि प्राविधिक एसएलसीमा भने जटिलताहरू पैदा भएको छ । नेपाल सरकारले हालसालै मात्र सञ्चालनमा ल्याएको प्राविधिक एसएलसीमा ग्रेडिङ लागु हुने वा नहुने यसै भन्न सकिने स्थिति छैन । सरकारका केही अधिकारीहरूले प्राविधिक एसएलसीमा ग्रेडिङ पद्धति आंशिक रूपमा प्रयोगको रूपमा लागु गर्ने अभिव्यक्ति दिएका छन्, जुन गलत छ । सरकारले नयाँ पद्धतिहरूको लागु गर्दा प्रयोगको रूपमा गर्नु समग्र राष्ट्र र विद्यार्थीको भविष्यमाथिको खेलवाड हो । विद्यार्थीहरू राज्यका प्रयोग शाला होइनन । तसर्थ नयाँ पद्धतिहरूको विकास र कार्यान्वयनमा कैयौँ समस्याहरू पैदा हुने, पद्धति नै असफल शिद्ध हुने सम्भावना पनि त्यति नै कायम रहन्छ । यस प्रकारको स्थितिलाई मध्यनजर राख्दै राष्ट्रको हितलाई केन्द्रमा राखेर, राष्ट्रिय आवश्यकता अनुकुलको शिक्षा प्रणाली, सोही अनुरूपको मूल्याङ्कन प्रणाली लागु गरियो भने मात्रै प्रतिस्पर्धाको आजको विश्वमा चन्द्र र सूर्य वाहक नेपाली ध्वजा फरफराइ रहन सकिन्छ अन्यथा अक्षराङ्कन पद्धति पनि “हात्ति आयो हात्ति आयो फुस्सा” नहोला भन्न सकिन्न ।