Pages

क्यान विवादमा आइसीसीको धैर्य टुट्दै छः एन्डरसन विवाद समाधान तत्काल नगरे प्रतिवन्ध लाग्नसक्ने संकेत

५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का विकास निर्देशक टिम एन्डरसनले नेपालको क्रिकेट विवाद चाँडो समाधान गर्न दवाव दिएका छन् । दुई क्रिकेट एसोसिएसनबीच आधिकारिता विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेटलाई आइसीसीले लामो समय छुट दिइरहन नसक्ने उनले प्रष्ट पारे ।
एन्डरसनले सरकारद्वारा गठित र निर्वाचित दुवै क्यानसँग छलफल गरेका थिए । छलफलमा आफूले दुवै क्यानलाई सहकार्य गरेर अघि बढ्न सुझाव दिएको र उनीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।
‘नेपालका क्रिकेट खेलाडीको प्रतिभा र समर्थकको उत्साहलाई आइसीसीले अत्यन्त सकारात्मक रुपमा लिएको छ,’ आइतबार पत्रकारमाझ एन्डरसनले भने, ‘तर, यसैका नाममा लामो समय धैर्य गर्न सक्ने अवस्था छैन ।’
उनले विवाद तत्काल नसुल्भिए क्यानमाथि आइसीसीले प्रतिवन्ध लगाउन सक्ने संकेत पनि गरे । तर त्यसो भएको खण्डमा पनि खेलाडीहरु क्रिकेट खेल्नबाट वञ्चित भने नहुने उनको भनाई छ । एन्डरसनले अमेरिकाको उदाहरण समेत दिए, जहाँ क्रिकेट एसोसिएसनमा प्रतिवन्ध छ, तर खेलाडीहरुले खेलिरहेका छन् ।
खेलाडी र समर्थककै कारण आइसीसीले नेपालमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियासँगको खेल आयोजना गरेको उल्लेख गर्दै उनले यस्तो घटना अपवाद मात्रै हुने बताए । एन्डरसनले भने, ‘भोलीका दिनमा आइसीसीले यसरी नेपालमा प्रतियोगिता गराउन सक्दैन ।’
नेपाल-नामिबियाबीच सम्पन्न पहिलो खेलमा दर्शकको उपस्थितिलाई उनले प्रशंसा गरे ।


अर्को साता प्रतिदेवन दिने
एन्डरसनले अर्को साता आइसिसीको बोर्ड वैठकमा नेपालबारे प्रतिवेदन पेश गर्ने भएका छन् । सोही प्रतिवेदनका आधारमा आइसीसीले नेपालका विषयमा छलफल गर्ने उनले बताए ।
नेपालको अदालतले क्यानको आधिकारिकताका सम्वन्धमा गर्ने फैसला आइसीसीलाई मान्य हुन्छ त भन्ने प्रश्नमा एन्डरसनले ‘फैसला हेरेर मात्र निर्णय लिने’ उल्लेख गरे । नेपालको सरकारले क्रिकेटमा राजनीतिक हस्तक्षेप गरेको विषयमा प्रश्न गर्दा उनले क्यानबाट यस विषयमा औपचारिक उजुरी आयो भने छलफल गर्न सकिने बताए ।
साभार:www.onlinekhabar.com

No comments: