Pages

बिस्व च्याम्पियन्स लिग, नेपाल भर्सेज नामिबियाः सुवास खकुरेलको नजर

नेपालले यो साताको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग खेल्दैछ । अनलाइनखबरले नेपाली टोलीका विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल, जो चोटका कारण यो पटक टिममा छैनन्, उनलाई भेटेर खेलको विभिन्न पक्षबारे कुराकानी गरेका छौं ।उनले शनिबारको म्याचमा ‘६०-४०’ ले नेपाल बलियो रहेको आँकलन गरे । यस्तो छ खकुरेलको विश्लेषणः
अघिल्लो दिन
खेलको अघिल्लो दिन बेलुका टिम मिटिङ हुन्छ । सामान्यतया रातको खाना अगाडि हुने यस्तो मिटिङहरुमा प्रशिक्षकले खेलाडीहरुलाई उनीहरुको भूमिकाबारे सम्झाउँछन् । भोलिको रणनीतिबारे खेलाडीहरुलाई जानकारी गराइन्छ र प्लान ‘ए’ र प्लान ‘बी’ सुनाइन्छ ।
विपक्षी टिमको बलियो पक्ष के हो ? मुख्य व्याट्सम्यान र बलर को हो ? भनेर पनि सोही मिटिङमा छलफल हुन्छ । यसमा प्रशिक्षक र टेक्निकल एनालिस्टको भूमिका हुन्छ । त्यससछि खाना हुन्छ र भोलि कसकसलाई खेलाउने भनेर कप्तान र प्रशिक्षकको मिटिङ पनि हुन्छ । खेलाडीहरुले भने आफ्नो किटब्याग लगायत तयार गर्छन् ।
खेलको दिन
सबै खेलाडीको आ-आफ्नो रुटिङ हुन्छ । जस्तो उनीहरु उठ्ने आफ्नै समय हुन्छ । त्यसपछि मैदान जाने हो । यसले उनीहरुमा आत्मविश्वास बढाउन सहयोग गर्छ ।
टस जिते बलिङ

Sakti-Gauchan
कीर्तिपुरको अहिलेको विकेट कस्तो छ भन्न सकिन्नँ । तर, विगतलाई हेरेर भन्ने हो भने यदि हामीले टस जित्यौं भने बलिङ रोज्नुपर्छ । किनभने पहिलो भन्दा दोस्रो इनिङमा ब्याटिङ सजिलो हुन्छ । विहान चिसो हुन्छ र बल रोकिएर आउछ । दिउँसो घाम लागेपछि विकेट फ्ल्याट बन्छ ।
हामीले अहिलेसम्म पाएको सफलता पनि धेरै चेज गरेर पाएका छौं । डिभिजन ४ देखि विश्वकप छनोटसम्म नै हामीले चेज गरेर नै धेरै खेल जितेका छौं । त्यसैले मलाई नेपाल टिम चेजिङ टिम पनि हो जस्तो लाग्छ ।
नेपालको बलिङ राम्रो भएकाले पनि विपक्षीलाई सस्तो योगफलमा रोक्ने र धेर्यतापूर्वक व्याटिङ गरेर त्यसलाई पछ्याउने रणनीति प्रभावकारी हुन्छ ।
नेपालको ओपनिङ
हाम्रो टिम सन्तुलित छ । व्याट्सम्यानहरु अनुभवी छन् र बलरहरु पनि फर्ममा छन् । ओपनीङ ब्याट्सम्यानको कुरा गर्दा मेरो विचारमा एकातिर नरेश बुढायर हुनेछन् भने उनलाई ज्ञानेन्द्र मल्लले साथ दिनेछन् ।
नरेशले ओपनिङ ब्याट्सम्यानका रुपमा राम्रो गर्दै आएका छन् । ज्ञानेन्द्रले नियमित रुपमा तेस्रो नम्बरमा खेले पनि विगतमा ओपनिङ गरेको अनुभव उनीसँग छ । त्यसपछि सागर पुन आउने छन् । उनले अहिले तेस्रो नम्बरमा राम्रो गरिरहेका छन् ।
मिडल अडर
विनोद भण्डारी, राजेश पुलामी, पारस खड्का र शरद भेषावकरसहितको नेपाली मिडल अडर निकै बलियो छ । लो मिडल अर्डरमा शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीले पनि आवश्यक पर्दा ब्याटबाट योगदान दिन सक्छन् ।
हो, हामीले विगत दुई तीन वर्षमा जुन लेभलको क्रिकेट खेल्यौं, त्यो अहिले मैले देखेको छैन । हामीले २/३ महिना क्रिकेट नै खेलेनौं, त्यसले पनि अलिकति असर परेको छ । आश गरौं, हाम्रो ब्याटिङ लयमा आउँछ । विनोदले हामीलाई धेरै खेल जिताएका छन् । शरद निकै अनुभवी हुन्, १०/१२ वर्ष भइसक्यो उनले खेल्न थालेको । त्यसैले यो पटक स्कोर राम्रो बन्छ होला ।
व्याटिङमा देखिएको समस्याको कुरा जति गरेपनि अन्तिममा एक्स्पोजर नै आउँछ । हामीले यहाँ खेल्ने अभ्यास खेलहरुमा टप ४/५ नम्बरको ब्याट्सम्यानले नै खेल सकाउँछन् । फिनिसरको भूमिकामा रहेका ६/७ नम्बरका व्याट्सम्यानले त ब्ययाटिङको मौका कमै पाउछन् । यदि राम्रो टिमसँग खेलेको भए उनीहरुले मौका पाउँथे । कहिलेकाहीँ उनीहरुले नै जिताउनु पर्ने हुन्छ । यसले गर्दा राम्रो फिनिस हुन पाउँदैन ।
सम्माजनक स्कोर
मेरो विचारमा कीर्तिपुरमा २५० रन सम्मानजनक स्कोर हो । यति रन बनाएपछि जित्छ भन्ने त होइन, तर विपक्षीलाई दवावमा राख्न सकिन्छ । हाम्रो कुनै एक ब्याट्सम्यानले लामो इनिङ खेल्नुपर्छ र अरुले आक्रामक ब्याटिङ गर्नुपर्छ । लामो इनिङ खेल्ने ब्याट्सम्यान जो पनि हुनसक्छ ।
विपक्षी टिम
Namibian-team
यू-१९ विश्वकपमा हामीले नामिबयाविरुद्ध खेल्दा अहिलेका कप्तान स्टुआर्ड बार्ड टिममा थिए । २००३ मै विश्वकप खेलेको नामिबिया लगातार यही लेभलमा खेलिरहेको छ । उसको प्रगति सुस्त छ ।
तर, उनीहरुको सिस्टम छ र एक्पोजर छ । नामिबियाका खेलाडीहरुले दक्षिण अफ्रिका र अन्य देशमा गएर धेरै क्रिकेट खेल्दै आएका छन् । हरेक खेलाडीले कम्तिमा ४०/५० लिस्ट ए खेल खेलेका छन् ।
तर, क्षमता र प्रतिभाका आधारमा हेर्नु भयो भने नेपाल अगाडि छ । कीर्तिपुरमा स्लो टर्निङ विकेट छ । जहाँ स्पिनरहरुले खेल जिताउन सक्छन् र यो पार्ट हाम्रो बलियो छ ।
उनीहरुको ब्याटिङ बलियो पक्ष हो । स्कल्स, कड एक्सन छन् । नामिबियाका बलर पनि राम्रा छन् ।
तर, हामीले पनि ठूलो टिमलाई हराउन जानिसकेका छौं । मलाई लाग्छ नेपालको पक्षमा ६०-४० छ ।
नयाँ खेलाडी

Sndip-and-Susan
नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाउने मौका पाएका छन् । उनीहरुले घरेलु मैदानमा खेल्दैछन् र सिनियरहरुले सहयोग गर्नेछन् । तर, खेलाउने नखेलाउने प्रशिक्षकले निर्णय गर्छन् । यदि राम्रो गर्न सकेनन् भने क्राउडले गर्ने व्यवहारले उनीहरुलाई निराश पनि बनाउन सक्छ । यदि राम्रो गर्न सके भने अझ उत्साहित भएर आउनेछन् ।
मलाई लाग्छ उनीहरुलाई म्याच एक्पोजरको जरुरी छ, जुन हामीले पाएका छैनौं । हाम्रो राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष हुन लागिसक्यो । एसीसीले गर्ने प्रतियोगिताहरु पनि हटेको छ । यसतर्फ सरोकारबालाहरु बेलैमा सचेत हुनुपर्छ । 

No comments: